
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकले सामान्य सेवा लिनका लागि पटक–पटक सरकारी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने योजना आफूले बनाएको बताएका छन्।
बुधबार सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले सरकारी कार्यालयमा हुने ढिलाइ, झन्झट र अनावश्यक दुःख हटाउने लक्ष्य रहेको बताए। उनका अनुसार सरकारले सकेसम्म नागरिकको घरमै सेवा पुर्याउने व्यवस्था गर्नुपर्छ । यदि कार्यालय जानै परे पनि एकपटक गएर काम सकिने प्रणाली बनाउने उनको भनाइ छ।
थापाले नापी–मालपोत, पासपोर्ट, सवारी चालक अनुमतिपत्र वा विश्वविद्यालयका प्रमाणपत्र लिन जाँदा सर्वसाधारणले भोग्ने समस्या सबैलाई थाहा भएको बताए। लामो लाइन बस्नुपर्ने, पालो कहिले आउँछ थाहा नहुने, धेरै कागजात बोकेर जाँदा पनि अन्त्यमा कागजात पुगेन भनिने अवस्था अझै रहेको उनको भनाइ छ। कतिपय अवस्थामा सेवा लिन घुस दिनुपर्ने बाध्यता समेत नागरिकले भोग्दै आएको उनले उल्लेख गरे।
यी सबै समस्या हटाउन सकिने भन्दै थापाले त्यसका लागि आफूहरूसँग स्पष्ट योजना रहेको बताए। देशमा केही पनि सुधार नभएको भन्ने कुरा सही नभएको उल्लेख गर्दै उनले स्वास्थ्य मन्त्रालयमा काम गर्दा देखेका सुधारका अनुभवले परिवर्तन सम्भव रहेको बताए।
सरकारले इमानदारीका साथ काम गरे धेरै समस्या समाधान गर्न सकिने निष्कर्षमा आफू पुगेको भन्दै उनले “कम सरकार, तर राम्रो शासन” नै आफ्नो मूल सोच भएको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे