
काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन्। सम्माननीय प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णय अनुसार २०८२।१०।२२ मा निर्णय भइसकेको र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२।१०।२३ को नियुक्ति पत्र मार्फत उहाँलाई पदभार तोकिएको हो।
नवनियुक्त डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर (बीई) गर्नुभएको हो। उहाँ २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी इन्जिनियर पदमा सेवामा प्रवेश गर्नु भएको थियो र २०५२ जेठ ९ मा स्थायी नियुक्ति हुनुभएको थियो।
उहाँ २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशकको रूपमा कार्यरत रहँदै प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं तथा वायरलाइन र ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी पनि सम्हालिसक्नु भएको छ। हाल उहाँ प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो।
पदभार ग्रहण गर्दै नवनियुक्त डंगोलले नेपाल सरकारले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै कम्पनीलाई ग्राहक केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतामा सन्तुलन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले कर्मचारीहरूलाई आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यसहित अगाडि बढ्न आह्वान गर्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे