काठमाडौँ। अमेरिकी भर्चुअल दूतावासले इरानमा रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ। दूतावासको सूचना अनुसार, इरानमा सडक अवरुद्ध, सार्वजनिक यातायात ठप्प, र मोबाइल, ल्यान्डलाइन तथा इन्टरनेट सेवा अस्थायी रूपमा प्रभावित भएको छ। अमेरिकी नागरिकहरूलाई वैकल्पिक सञ्चार माध्यम प्रयोग गर्न र सुरक्षित अवस्थामा अर्मेनिया वा टर्की हुँदै इरानबाट बाहिरिन सल्लाह दिइएको छ।
साथै, इरानतर्फ जाने–आउँने एयरलाइन्सका उडानहरू सीमित वा रद्द भइरहेका छन्। यसबीच, ओमानमा इरान र अमेरिकाबीच कूटनीतिक वार्ता जारी छ। इरानका विदेशमन्त्री अब्बास अराघ्ची मस्कट पुगेका छन् र अमेरिकी प्रतिनिधिहरूसँग भेटवार्ता गरिरहेका छन्। वार्ता मुख्य रूपमा इरानको आणविक कार्यक्रम र त्यसको सीमितता सम्बन्धी रहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् कि इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरे सैन्य विकल्प प्रयोग गर्न सकिनेछ। तर, इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता नगर्ने अडानमा रहेको बताइएको छ। ह्वाइट हाउसले वार्ताको सम्पूर्ण प्रक्रिया नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे