
काठमाडौँ — राष्ट्रिय सभाको आजको बैठकमा सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत हुने भएको छ। बैठक आज अपराह्न १ः१५ बजे बस्नेछ। प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यक्रम छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक सङ्घीय संसद्बाट फिर्ता लिने निर्णय गरेको थियो।
राष्ट्रिय सभाको १७औँ अधिवेशनमा दर्ता भएको यो विधेयक हाल विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा रहेको थियो। यस्तै, बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव समितिको प्रतिवेदनसहित प्रस्तुत गर्नेछिन्। छलफलपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि सभामा पेश हुने कार्यसूची रहेको छ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे