
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
विद्यालयको १७२औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बैंकले अध्ययनरत करिब ११०० भन्दा बढी विद्यार्थीहरूमध्ये आर्थिक अभावका कारण पठनपाठनमा असर परेका विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति सहयोग गरेको हो। उक्त छात्रवृत्ति बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुंगेलले विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेललाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले जेहेन्दार तथा अनुशासित विद्यार्थीहरूको शैक्षिक यात्रालाई निरन्तरता दिन बैंकको सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताउँदै उज्ज्वल भविष्य निर्माणमा गरेको योगदानप्रति बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो।
त्यस अवसरमा बैंकका मार्केटिङ विभाग प्रमुख ढुंगेलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैंकले आगामी दिनहरूमा पनि सरोकारवालासँगको सहकार्यमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे