
काठमाडौँ । नेपाल आयल निगमले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास अनावश्यक रूपमा घरमा स्टक नगर्न अनुरोध गरेको छ। निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्टले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अनुरोध गरेका हुन्।
काठमाडौं उपत्यकामा केही दिनयता ग्यास अभाव देखिएको र उपभोक्ताले डरका कारण बढी ग्यास खपत गरेको स्थिति देखिएपछि निगमले यो कदम चालको हो। निगमका अनुसार भारतबाट पर्याप्त एलपी ग्यास आइरहेको र अब अभाव नहुने अवस्था सिर्जना भइसकेको छ। हाल दैनिक ८५–९० वटा ग्यास बोकेको बुलेट नेपाल भित्रिरहेकामा प्रतिदिन १ लाख १४ हजार खाली सिलिन्डर रिफिल गर्न सकिनेछ।
भट्टका अनुसार, ‘अहिले दैनिक १ सय ३२ बुलेट आइरहेका छन्, धेरै त बुधबार नै आइपुग्ने छन्। त्यसैले अनावश्यक रूपमा ग्यास स्टक नगर्नु होला।’ आगामी चुनाव अवधिभर ग्यास अभाव नहुने र थप दुई हजार मेट्रिक टन एलपीजी ग्यास पनि आइरहेको उनले बताए।
गत शनिबार ११८ बुलेट, सोमबार ११५ बुलेट र मंगलबार १३२ बुलेट ग्यास लोडिङ गरिएको छ। लोडिङ गरिएका बुलेटमध्ये केही नेपाल भित्रिसकेका छन् भने केही बाटोमा रहेको छ। निगमले आगामी दिनमा पनि नियमित रूपमा ग्यास आपूर्ति जारी रहने दाबी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे