
काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले आर्थिक दबाब र व्यय नियन्त्रणको उद्देश्यसहित फागुन १ गतेदेखि बहिरंग (ओपीडी) सेवा सीमित गर्ने निर्णय गरेको छ। नयाँ नियम अनुसार स्वास्थ्य बिमा भएका एक परिवारले अब वार्षिक अधिकतम २५ हजार रुपैयाँसम्मको ओपीडी उपचार सुविधा पाउनेछन्। बोर्डको २४ पुसको बैठकले यस निर्णयलाई औपचारिक रूप दिएको थियो।
सूचनाअनुसार, ओपीडीमा तोकिएको सीमा नाघ्न नपाउने गरी मात्र उपचार सुविधा उपलब्ध हुनेछ। यद्यपि, अस्पताल भर्ना, ल्याब परीक्षण, आकस्मिक उपचार र आठ प्रकारका कडा तथा दीर्घरोगको उपचार सेवा भने हालको व्यवस्थाअनुसार निरन्तर उपलब्ध हुने बोर्डले स्पष्ट पारेको छ।
स्वास्थ्य बिमा बोर्डका अनुसार ओपीडीमा सबैभन्दा बढी खर्च हुने भएकाले सीमित गरिएको हो। यसअघि सात सदस्यीय परिवारले ३ हजार ५ सय रुपैयाँ योगदान दिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा पाउँथे। तर अस्पतालहरूलाई भुक्तानी बढ्दै गएपछि आर्थिक भार नियन्त्रणको लागि सेवा कटौती अपरिहार्य भएको बोर्डले जनाएको छ।
हालसम्म अस्पतालहरूलाई करिब ११ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको छ। यस निर्णयले बीमित सर्वसाधारणमा कस्तो प्रभाव पार्ने भन्ने विषयमा सरोकारवालाहरूको चासो बढ्न थालेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे