
काठमाडौँ। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले राजनीतिक दलहरूलाई दिएको सुझावलाई चुनावी घोषणापत्रमा समेटेर मात्र नछोडी व्यवहारमै पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्। महासंघको मुख्यालयमा निजी क्षेत्रसम्बन्धी सुझाव घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचनलाई लक्षित गरी प्रस्तुत सुझाव कार्यान्वयनप्रति दलहरू गम्भीर हुनुपर्ने बताए।
अध्यक्ष ढकालले निजी क्षेत्रको भूमिका उद्योगी–व्यवसायीमा मात्र सीमित नरही समग्र राष्ट्रिय अर्थतन्त्र, देश र जनताको हितसँग जोडिएको स्पष्ट पारे। राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा उल्लेख गरेका नीतिगत व्यवस्था र आर्थिक एजेन्डालाई प्रभावकारी रूपमा लागू गर्न कुनै कसर बाँकी नराख्नुपर्ने उनको भनाइ थियो।
महासंघले मुलुकको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रको भूमिका र सामाजिक न्यायका विषयमा राजनीतिक दलहरू अझै स्पष्ट हुन नसकेको जनाएको छ। यदि दलहरू स्पष्ट मार्गचित्रसहित अघि बढ्न सकेनन् भने सुशासनसहितको रोजगारी र स्वरोजगारको पर्याप्त अवसर सिर्जना गर्ने युवा पुस्ता (जेन–जी) को अपेक्षा पूरा हुन नसक्ने चेतावनी महासंघले दिएको छ।
नेपालको आवश्यकता र अन्तर्राष्ट्रिय परिवेशलाई मध्यनजर गर्दै उद्यमीलाई प्रोत्साहन गर्ने, नवप्रवर्तनमा आधारित उदार र समावेशी आर्थिक नीति अवलम्बन गर्न महासंघले सुझाव दिएको छ। पछिल्लो समय भएका आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएका आक्रमण र आगजनीले लगानी वातावरण कमजोर बनेको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन राज्यले स्पष्ट प्रतिबद्धता र सुरक्षा व्यवस्था गर्नुपर्ने महासंघको माग छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे