
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको आशङ्कामा विभिन्न दलका नेताहरू र एक स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण माग गरेको छ। आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार कमल भुसाल (निकोलस) लाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।
आयोगका अनुसार बालेन शाहविरुद्ध निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोपसहित उजुरी परेको छ। सामाजिक सञ्जालमार्फत दिएका केही टिप्पणीमा प्रमाण वा अदालतको निर्णयबिनै गम्भीर आरोप लगाइएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ। सो उजुरीमा सार्वजनिक बहसको मर्मविपरीत अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।
त्यसैगरी, एमाले सचिव महेश बस्नेतविरुद्ध पनि अभिव्यक्तिसम्बन्धी उजुरी परेको छ। बालेन शाहले जनकपुरमा दिएको भाषणका केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गर्दै मधेसी समुदायप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोप उजुरीमा उल्लेख छ।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई निर्वाचन अभियानमा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोग स्रोतले जनाएको छ। स्वतन्त्र उम्मेदवार कमल भुसाल (निकोलस) ले प्रचारका क्रममा दुई वटा चुनाव चिह्न प्रयोग गरेको पाइएपछि सो विषयमा पनि आयोगले जवाफ मागेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे