
ललितपुर, माघ ६ । आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञानसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। सम्मेलन ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा आयोजना गरिएको हो।
सम्मेलनको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले नेपाल तराईदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएका विविध कृषि–पर्यावरणीय क्षेत्र र समृद्ध कृषि जैविक विविधताले सम्पन्न देश भएको उल्लेख गर्नुभयो। उहाँले मौलिक बाली, स्थानीय जात, पशुधन, कृषि कीरा, सूक्ष्मजीव तथा जलीय आनुवंशिक स्रोतहरू खाद्य तथा पोषण सुरक्षा, जलवायु अनुकूलन र भावी बाली प्रजनन कार्यक्रमका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
मन्त्री परियारले जैविक विविधताको संरक्षण र वैज्ञानिक उपयोगलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार कृषि क्षेत्रको दीर्घकालीन दिगोपनाका लागि अनुसन्धान, नवप्रवर्तन र प्रविधिको एकीकृत प्रयोग अपरिहार्य छ।
बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा कृषिमा आनुवंशिकीको भूमिका, दिगो कृषिका लागि जैविक विविधताको संरक्षण, खाद्य तथा पोषण सुरक्षाका लागि बाली प्रजनन, स्मार्ट कृषिका लागि जैविक प्रविधि, कृषि अनुसन्धानमा डाटा विज्ञान र बायोस्टाटिस्टिक्स, बीउ विज्ञानमा नवप्रवर्तन तथा कृषि नीति र बौद्धिक सम्पत्ति अधिकारलगायत विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ।
बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल र नेपाल कृषि अनुसन्धान परिषदअन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा भएको सम्मेलनमा कृषि वैज्ञानिक, अनुसन्धानकर्ता, नीति निर्माता, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिसहित २३० जनाभन्दा बढीको सहभागिता रहेको छ। सम्मेलन अवधिभर आठ वटा विषयगत विशेष कार्यपत्र, ४२ वटा अनुसन्धान लेख, २१ वटा पोस्टर प्रस्तुति तथा १० वटा कृषि सम्बन्धी प्रदर्शनी स्टल प्रस्तुत गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे