
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूलाई पार्टीबाट निकाल्ने भनिएको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले कांग्रेस कुनै व्यक्तिको निजी कम्पनी नभएको भन्दै “निकाल्न मिल्छ?” भनेर प्रश्न गरे।
थापाले बाहिर जे–जस्तो निर्णय भए पनि समाधानका लागि छलफल हलभित्रै हुनुपर्ने बताए। उनले समाचारमा आफू, अर्का महामन्त्री र एक सहमहामन्त्रीलाई निकालिएको भन्ने कुरा सुनेको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। “हामीलाई कसैले पार्टीभित्र आउन नआऊ भनेको होइन, न त जानू भनिएको हो,” उनले भने।
उनले विशेष महाधिवेशन सुरु भएको र त्यसबारे निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको पनि बताए। थापाका अनुसार शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति अब भंग भइसकेको छ र नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया अघि बढिरहेको छ।
आफूमाथि कारबाही गर्नुअघि कुनै स्पष्टिकरण नसोधिएको भन्दै उनले आक्रोश व्यक्त गरे। “म पार्टीको महामन्त्री हुँ, कारबाही गर्नुअघि एकपटक सोध्नुपर्दैन?” उनले प्रश्न गरे।
थापाले कांग्रेस पार्टी नफुट्ने दाबी गर्दै अहिलेको समूह नै आधिकारिक कांग्रेस भएको बताए। साथै, आगामी प्रधानमन्त्रीको उम्मेदवार जो बनाए पनि हुने तर शेरबहादुर देउवालाई उम्मेदवार बनाउनु नैतिक रूपमा सही नहुने धारणा राखे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे