
काठमाण्डौ। नागरिक लगानी कोषले कार्यकारी निर्देशक, उच्च व्यवस्थापन तथा सञ्चालक समितिका सदस्यहरूले विभिन्न संस्थामा धारण गरेका पद, सम्बद्ध पक्षको विवरण, सुविधा तथा व्यवस्थापन शुल्कसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कोषको नेतृत्व तहमा रहेका पदाधिकारीहरूले विभिन्न वित्तीय तथा कर्पोरेट संस्थामा जिम्मेवारी वहन गरिरहेका छन्।
कार्यकारी निर्देशक पर्वत कुमार कार्की नागरिक लगानी कोषका कार्यकारी निर्देशक हुनुका साथै नागरिक स्टक डिलर कम्पनी लिमिटेडको सञ्चालक सदस्य रहेका छन्। यसैगरी शोभा श्रेष्ठ सुवेदी नागरिक लगानी कोषकी निर्देशक तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडकी सञ्चालक सदस्य हुन्। हेमन्त पोखरेल नागरिक लगानी कोषका निर्देशक हुनुका साथै माथिल्लो तामाकोशी जलविद्युत् लिमिटेडको सञ्चालक समितिमा आमन्त्रित सदस्यका रूपमा रहेका छन्।
त्यसैगरी नवराज खड्का नागरिक लगानी कोषका निर्देशक तथा सञ्चालक समिति सचिवको जिम्मेवारीमा छन् भने छविरमण अधिकारी कोषको वित्त व्यवस्थापन विभागका निर्देशक रहेका छन्। कोषले यी पदाधिकारीहरूले संस्थागत हित र नियमनको दायराभित्र रहेर जिम्मेवारी निर्वाह गरिरहेको जनाएको छ।
उप–शेयरधनीहरूको सम्बद्ध पक्ष विवरणअनुसार राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको ३१.५५ प्रतिशत, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको १० प्रतिशत र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४.४५ प्रतिशत शेयर स्वामित्व रहेको छ। शेयर स्वामित्वसँगै सञ्चालक समितिमा प्रतिनिधित्व रहेकाले यी संस्थाहरू सम्बद्ध पक्षका रूपमा सूचीकृत गरिएको कोषले स्पष्ट पारेको छ।
सञ्चालक समितिका सबै सदस्य गैर–कार्यकारी रहेका र बैठक भत्ताबाहेक अन्य कुनै पारिश्रमिक नलिने व्यवस्था रहेको छ। अध्यक्ष तथा सदस्यलाई प्रत्येक बैठकमा चार हजार रुपैयाँ भत्ता प्रदान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा कुल बैठक भत्ताबापत १३ लाख ५८ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको छ। सोही अवधिमा कार्यकारी निर्देशकलाई २५ लाख ८४ हजार ४ सय ७५ रुपैयाँ र चार जना निर्देशकलाई १ करोड २८ लाख ७३ हजार ४ सय ७९ रुपैयाँ तलब, भत्ता, बोनस तथा सुविधाका रूपमा भुक्तानी गरिएको छ। साथै, योजनाको प्रबन्धन वापत आर्थिक वर्ष २०८१/८२ मा कोषले १ अर्ब ७० करोड २३ लाख ५५ हजार १ सय ७९ रुपैयाँ व्यवस्थापन शुल्क आर्जन गरेको जनाएको छ।
नागरिक लगानी कोषले सञ्चालनमा रहेका विभिन्न योजनाअनुसार लिइएको व्यवस्थापन शुल्क तथा कर्मचारीलाई प्रदान गरिएको ऋण र सापटीसम्बन्धी विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले कोषको आम्दानी संरचना, योजना व्यवस्थापनको अवस्था र कर्मचारी लाभसम्बन्धी नीतिगत अभ्यासलाई स्पष्ट पारेको छ।
कोषले राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन बीमा कोष, नागरिक पेन्सन योजना, नार्क बीमा कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष, कर्मचारी बचत वृद्धि अवकाश कोष र नागरिक एकांक योजनामार्फत व्यवस्थापन शुल्क आर्जन गरेको छ। यी योजनामध्ये सबैभन्दा बढी व्यवस्थापन शुल्क उपदान तथा पेन्सन योजनाबाट प्राप्त भएको छ, जसको हिस्सा कुल व्यवस्थापन शुल्कको करिब ६० प्रतिशतभन्दा बढी रहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा विभिन्न योजनाबाट प्राप्त कुल व्यवस्थापन शुल्क १ अर्ब ७० करोड २३ लाख ५५ हजार १ सय ७९ रुपैयाँ पुगेको छ। योजनाअनुसार व्यवस्थापन शुल्कको प्रतिशत ०.०५ प्रतिशतदेखि २८ प्रतिशतसम्म फरक–फरक रहेको देखिन्छ, जसले योजनाको आकार र व्यवस्थापन खर्चको प्रकृतिलाई प्रतिबिम्बित गर्दछ।
यसैगरी कोषले आफ्ना कर्मचारीहरूलाई घर कर्जा, सवारी साधन कर्जा तथा सामाजिक सुरक्षा कर्जा शीर्षकअन्तर्गत ऋण तथा सापटी प्रदान गरेको छ। यी ऋणहरू अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड अनुरूप प्रारम्भिक रूपमा उचित मूल्यमा मापन गरिएको र त्यसपछिका अवधिमा प्रभावकारी व्याज दर विधिबाट परिशोधित लागतमा वित्तीय विवरणमा समावेश गरिएको कोषले जनाएको छ।
बजार व्याज दरभन्दा कम दरमा प्रदान गरिएका कर्मचारी ऋणको हकमा ऋणको नाममात्र रकम र उचित मूल्यबीचको अन्तरलाई कर्मचारी लाभ खर्चका रूपमा नाफा–नोक्सान खातामा देखाइएको छ। विवरणअनुसार घर कर्जातर्फ २२ करोड ६९ लाख रुपैयाँ, सवारी साधन कर्जातर्फ १ करोड २ लाख रुपैयाँ र सामाजिक सुरक्षा कर्जातर्फ ७ करोड २५ लाख ९६ हजार ९ सय ४ रुपैयाँ प्रवाह गरिएको छ। कुल कर्मचारी ऋण तथा सापटी रकम ११ करोड ८ लाख ५८ हजार ३ सय रुपैयाँ पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे