
एजेन्सी। चीनले ताइवानलाई लक्षित गरी अमेरिकाले हालै घोषणा गरेको ठूलो परिमाणको हतियार बिक्रीप्रति कडा आपत्ति जनाउँदै औपचारिक प्रतिकारात्मक कदम चालेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले जारी गरेको वक्तव्यअनुसार ताइवानलाई हतियार आपूर्ति गर्न संलग्न २० वटा अमेरिकी सैन्यसम्बद्ध कम्पनी र १० जना वरिष्ठ कार्यकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो।
प्रवक्ताका अनुसार चीनले “विदेशी प्रतिबन्धविरुद्ध प्रतिकारसम्बन्धी जनवादी गणतन्त्र चीनको कानुन” बमोजिम उक्त निर्णय लिएको हो। पछिल्ला वर्षहरूमा ताइवानलाई हतियार उपलब्ध गराउन सक्रिय रहेका अमेरिकी कम्पनी तथा व्यक्तिहरूले आफ्नो गलत कार्यको मूल्य चुकाउनुपर्ने चीनको स्पष्ट चेतावनी छ।
चीनले ताइवान प्रश्नलाई आफ्नो ‘मुख्य राष्ट्रिय हितको केन्द्र’ र चीन–अमेरिका सम्बन्धमा पार गर्न नहुने पहिलो रातो रेखाका रूपमा पुनः दोहोर्याएको छ। यस विषयमा उक्साहट वा हस्तक्षेप गर्ने कुनै पनि प्रयासलाई चीनले कडा प्रतिक्रिया दिने प्रवक्ताले बताएका छन्। चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने संकल्प, इच्छाशक्ति र क्षमतालाई कसैले कम आँक्न नहुने चेतावनी पनि दिइएको छ।
चीनले अमेरिकालाई ‘एक–चीन सिद्धान्त’ र चीन–अमेरिका संयुक्त तीन विज्ञप्तिको पालना गर्न आग्रह गर्दै ताइवानलाई हतियार उपलब्ध गराउने गतिविधि रोक्न, ताइवान जलडमरूमध्यको शान्ति र स्थिरता कमजोर नपार्न तथा ‘ताइवान स्वतन्त्रता’ पक्षधर शक्तिलाई गलत सन्देश नदिन पुनः आह्वान गरेको छ। चीनले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र अखण्डताको दृढ रक्षा गर्न आगामी दिनमा पनि आवश्यक कदम चालिरहने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे