
काठमाडौँ — जेन–जी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले आफू कुनै पनि राजनीतिक दलमा संलग्न नरहेको स्पष्ट गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकीकृत गर्ने अभियान नागरिक हित केन्द्रित भएको बताएका छन्। उनले राष्ट्रको हित र जनताको चाहनालाई प्राथमिकतामा राखेर सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने प्रयास भइरहेको भए पनि यस अभियानलाई कुनै दलगत आबद्धतासँग जोडेर नहेर्न आग्रह गरेका छन्।
गुरुङले पद, सत्ता वा व्यक्तिगत लोकप्रियताले आफूहरूलाई कहिल्यै आकर्षित नगरेको र भविष्यमा पनि नहुने स्पष्ट पारे। उनले नागरिक आन्दोलन र जेन–जीको बलिदानको जगमा उभिएर सत्तामा पुग्ने आकांक्षा बोकेका नवउदित राजनीतिक शक्तिहरूलाई सचेत गराउँदै, जनआन्दोलनबाट आएको जनादेशको सम्मान अनिवार्य रहेको उल्लेख गरे।
उनका अनुसार जेन–जी आन्दोलनमा सहभागी साहसी युवाहरू, सहिद तथा घाइतेहरूको योगदानलाई बेवास्ता गरी अघि बढ्ने कुनै पनि राजनीतिक प्रयास स्वीकार्य नहुने स्पष्ट सन्देश दिइएको छ। गुरुङले नेतृत्व र निर्णय प्रक्रियामा जेन–जी पुस्तालाई सम्मानजनक स्थान सुनिश्चित गर्ने शक्ति मात्र वैकल्पिक राजनीतिक धारको केन्द्र बन्न सक्ने धारणा राखे।
वैकल्पिक राजनीति व्यक्तिवादी आकांक्षा वा सत्ताको लोभमा आधारित नभई नागरिक बलिदान, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमा आधारित हुनुपर्ने गुरुङको भनाइ छ। उनले जनआन्दोलनबाट जन्मिएको चेतनालाई संस्थागत गर्दै जिम्मेवार र समावेशी राजनीतिक शक्ति निर्माण गर्नु नै वर्तमान अभियानको मूल उद्देश्य रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे