
काठमाडौँ — नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच देखिएको एकताको चर्चालाई सकारात्मक भनेका छन्। विचार मिल्ने मानिसहरू एकै ठाउँ उभिनु राम्रो भएको उनको भनाइ छ। तर यो एकता साँच्चै विचारका आधारमा हो कि स्वार्थका कारण हो भन्ने कुरा समयले नै स्पष्ट गर्ने उनले बताए।
ज्ञवालीले पहिले सिंहदरबारको विरोध गर्ने वा त्यसलाई जलाउने कुरा गर्नेहरू अहिले लोकतान्त्रिक प्रक्रियामार्फत त्यही सिंहदरबार पुग्न खोज्नु सकारात्मक पक्ष भएको बताए। तर केही भेटघाटलाई लिएर अहिले अत्यधिक चर्चा र उत्साह देखाइँदैछ, मानौँ केही व्यक्तिहरू नमिलेका कारण नै देश बनेको थिएन जस्तो भ्रम फैलाइँदैछ भन्ने उनको आलोचना छ।
उनले दक्षिण भारतीय फिल्मजस्तै कुनै एक ‘नायक’ आएर सबै समस्या समाधान हुन्छ भन्ने सोच गलत भएको बताए। देश बन्ने काम कुनै एक व्यक्तिले होइन, विचार, संस्था, प्रणाली र सामूहिक प्रयासले मात्रै सम्भव हुने उनको धारणा छ।
शासन प्रणाली, आर्थिक नीति, सामाजिक व्यवस्थापन, राष्ट्रिय हित, जलवायु परिवर्तन र संविधानका विषयमा स्पष्ट विकल्प बिना केवल नकारात्मकता र भावनामा बग्दा देश अघि नबढ्ने उनले बताए। मिडियामा देखिने अत्यधिक उत्साहले विगतका असफल उदाहरणहरू सम्झाएको भन्दै समाजलाई भावनात्मक होइन, व्यवहारिक र तर्कसंगत बनाउनुपर्नेमा उनले जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे