
काठमाडौं । भारतको नयाँ दिल्लीस्थित दूतावासमा भिसा सेवा निलम्बन गरेपछि बंगलादेशले अन्य केही स्थानमा पनि भिसा सेवा अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। पछिल्लो निर्णयअनुसार भारतका कोलकाता, मुम्बई, चेन्नई र गुवाहाटीस्थित बंगलादेशी भिसा केन्द्रहरूमा नियमित भिसा सेवा स्थगित गरिएको जनाइएको छ। बीबीसी बंगला सेवाका अनुसार त्रिपुराको अगरतलामा रहेको बंगलादेशको भिसा र कन्सुलर सेवाहरू मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ।
साथै, पश्चिम बंगालको सिलिगुडीमा अवस्थित बंगलादेश भिसा आवेदन केन्द्रको सञ्चालन पनि अस्थायी रूपमा निलम्बन गरिएको छ। बंगलादेशमा हिन्दू युवा दिपु चन्द्र दासको मृत्युपछि, केही स्थानीय संगठनहरूले विगत केही दिनदेखि अगरतलामा विरोध प्रदर्शन गरिरहेका छन्। बंगलादेशी अधिकारीहरूका अनुसार सुरक्षा अवस्था, प्रशासनिक कारण र भीड व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो। पछिल्लो समय ती भिसा केन्द्रहरूमा अत्यधिक आवेदकको चाप बढेको र व्यवस्थापन चुनौतीपूर्ण बनेपछि सेवा अस्थायी रूपमा निलम्बन गरिएको बताइएको छ।
भिसा सेवा निलम्बनसँगै भारतबाट बंगलादेश यात्रा गर्ने तयारीमा रहेका सर्वसाधारण, व्यापारी, विद्यार्थी र उपचारका लागि जाने व्यक्तिहरू प्रभावित भएका छन्। यद्यपि, कूटनीतिक भिसा, सरकारी प्रतिनिधिमण्डल र अत्यावश्यक अवस्थामा भने सीमित सेवा उपलब्ध गराइने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे