
काठमाडौं । होटल संघ नेपाल (एचएएन) का अध्यक्ष विनायक शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनुभएको छ। मन्त्रालयमै आयोजित कार्यक्रममा होटल उद्योगले भोगिरहेका नीतिगत चुनौती र सञ्चालनगत अवरोधका विषयमा विस्तृत छलफल भएको छ।
अन्तरक्रियाका क्रममा अध्यक्ष शाहले वर्तमान अवस्थामा होटल उद्योगले सामना गरिरहेका प्रमुख नीतिगत समस्या, पूर्वाधार अभाव तथा व्यवसाय सञ्चालनमा देखिएका व्यवहारिक कठिनाइहरूबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो।
सो अवसरमा होटल संघ नेपालले तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी चरणबद्ध प्रस्तावहरू मन्त्रालयसमक्ष पेश गरेको छ। ती प्रस्तावमा हवाई तथा भौतिक पूर्वाधारमार्फत सशक्त कनेक्टिभिटी विस्तार, पर्यटन प्रवर्द्धनका नीतिगत सुधार र सन् २०२६ सम्म २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यका लागि आवश्यक तयारीलगायतका विषय समेटिएका छन्। संघले हालको पूर्वाधार र अवस्थालाई हेर्दा उक्त लक्ष्य चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले होटल संघ नेपालसँगको आफ्नो दीर्घकालीन सम्बन्ध स्मरण गर्दै होटल तथा पर्यटन उद्योगको हितमा आफ्नो तहबाट अधिकतम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यसै क्रममा अध्यक्ष शाहले प्रस्तुत प्रस्तावसम्बन्धी दस्तावेज मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई समेत हस्तान्तरण गर्नुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे