
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सलाई बधाई दिएकी छन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत विजेता टोलीलाई बधाई दिँदै प्रतियोगिताले नेपाली खेलकुदमा नयाँ ऊर्जा थपेको उल्लेख गरेकी हुन्।
बधाई सन्देशमा उनले एनपिएललाई राष्ट्रिय आत्मविश्वास र उत्सवको प्रतीकका रूपमा वर्णन गर्दै प्रतियोगितामा सहभागी सबै टिम, आयोजक तथा समर्थकप्रति आभार व्यक्त गरेकी छन्। ‘राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद,’ प्रधानमन्त्री कार्कीले सन्देशमा उल्लेख गरेकी छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उपाधि जितेको हो। उपाधिसँगै लुम्बिनीले पहिलोपटक एनपिएलको ट्रफी आफ्नो नाममा लेखाएको छ।
सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक फाइनलमा पराजित हुँदै उपविजेतामै सीमित भएको छ। यस प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिक संरचना बलियो बनाउँदै दर्शकको उल्लेख्य आकर्षणसमेत हासिल गरेको आयोजकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे