
काठमाडौँ — भदौ २७ गते पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले आज थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी छन्। यससँगै प्रधानमन्त्री कार्कीको १० सदस्यीय मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।
निर्वाचन आउन करिब तीन महिना मात्र बाँकी रहेको बेला सरकारले जनताका प्राथमिकता र निर्वाचन तयारीमा ध्यान दिनुपर्ने अवस्थालाई पन्छाउँदै मन्त्रीपरिषद् विस्तारमा ध्यान दिएको देखिन्छ। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ जना नयाँ मन्त्रीहरूलाई नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूमा पेशाले अधिवक्ता रहेका कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जनस्वास्थ्यविद् तथा लेखक माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय, र पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज दिउँसो ३ बजे शीतल निवासमा हुनेछ। यसअघि प्रधानमन्त्री कार्कीले गत कात्तिक ९ गते तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै डा. सुधा शर्मालाई स्वास्थ्य तथा बब्लु गुप्तालाई खेलकुद मन्त्री नियुक्त गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले बिहीबार मात्रै राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेपछि आजको चौथो पटकको मन्त्रिपरिषद् विस्तार औपचारिकता पूरा भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे