
काठमाडौँ । जीवनमा पहाडको महत्वबारे जनचेतना फैलाउन, पहाडी क्षेत्रमा भएका अवसर र चुनौतीलाई उठान गर्न तथा विश्वभरका पहाडी समुदाय र वातावरणका पक्षमा सहकार्य निर्माण गर्न हरेक वर्ष डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइन्छ।
विश्वको करिब १५ प्रतिशत जनसंख्या पहाडी क्षेत्रमा बसोबास गर्छन्। यिनै पहाडहरूले विश्वको जैविक विविधताको झण्डै आधा हिस्सा समेटेका छन्। तर जलवायु परिवर्तन र अत्यधिक दोहनका कारण पहाडहरू गम्भीर जोखिममा परेका छन्। तापक्रम बढ्दै जाँदा हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, जसको असर तलका क्षेत्रमा पर्ने ताजा पानीको आपूर्तिमा देखिन सक्छ।
संयुक्त राष्ट्रसंघले सन् २००२ मा डिसेम्बर ११ लाई औपचारिक रूपमा अन्तर्राष्ट्रिय पर्वत दिवस घोषणा गरेको हो। संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठन (FAO) ले हरेक वर्ष यो दिवस समन्वय गर्दै पहाडी मुद्दाबारे विश्वव्यापी जागरूकता बढाउने काम गर्छ। राष्ट्रसंघका अनुसार विश्वका दुई अर्बभन्दा बढी मानिस पहाडबाट बग्ने पानीमा निर्भर छन्। तर पछिल्ला वर्षहरूमा पहाडी वातावरणमा भइरहेको क्षति र हिमनदीको द्रुत पग्लनाले पानी स्रोत नै संकटमा पर्न थालेका छन्।
यसबाहेक, विश्वभर एक करोड ५० लाखभन्दा बढी मानिस हिमनदी पग्लेर बनेका ताल फुट्ने सम्भावित खतराको कारण अत्यन्त जोखिममा रहेको तथ्यांकले देखाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे