
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको कुल आय र मुनाफा दुबै क्षेत्रमा उल्लेखनीय गिरावट देखिएको छ।
आय ५.८९ प्रतिशतले घट्यो
प्रकाशित विवरणअनुसार टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँमा सीमित भयो, जुन गत वर्षको सोही अवधिको ८ अर्ब ६८ करोड रुपैयाँभन्दा ६ लाख ७१ हजार रुपैयाँ (०.०१%) कम हो।
यस्तै कुल आय १० अर्ब ६ करोड रुपैयाँबाट घटेर ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ पुगेको छ। आयमा यो ५.८९ प्रतिशत, अर्थात् ५९ करोड २६ लाख रुपैयाँ बराबरको कमी हो।
मुनाफामा दोहोरो अंकको कमी
मुनाफा तर्फ टेलिकमको वित्तीय प्रदर्शन झनै कमजोर देखिएको छ।
सञ्चालन नाफा
– ५ अर्ब ४१ करोड ५९ लाख → ४ अर्ब ७५ करोड ४ लाख
– ६६ करोड ५५ लाख (१२.२९%) कमी
करअघिको मुनाफा
– ३ अर्ब ५५ करोड ३६ लाख → २ अर्ब ८८ करोड २१ लाख
– ६७ करोड १५ लाख (१८.९०%) कमी
खुद मुनाफा
– १ अर्ब ७३ करोड ९५ लाख → १ अर्ब ३२ करोड ५१ लाख
– ४१ करोड ४४ लाख (२३.८२%) कमी
कम्पनीको प्रति शेयर आम्दानी पनि घट्दै रु. २९.४५ मा आएको छ।
राजस्व र मुनाफा घट्नाका प्रमुख कारणहरू
नेपाल टेलिकमका अनुसार यो गिरावटका मुख्य कारणहरू यस्ता छन् :
१) अन्तरआवद्धता आयमा १७.२९ प्रतिशत गिरावट
OTT सेवाहरूको तीव्र विस्तारसँगै अन्तर्राष्ट्रिय कल आगमन घटेपछि अन्तरआवद्धता आयमा करिब १० करोड ९७ लाख बराबर, अर्थात् १७.२९% गिरावट आएको छ।
२) ब्याजदर घटेपछि मुद्दती निक्षेपबाट आम्दानी घट्यो
बजारमा ब्याजदर घटेपछि टेलिकमले मुद्दती निक्षेपमा राखेको रकमबाट प्राप्त हुने ब्याज ५० करोड रुपैयाँले कम भयो, जसले कुल ब्याज आम्दानीमा महत्त्वपूर्ण प्रभाव पारेको बताइएको छ।
३) कर्मचारी खर्चमा उल्लेखनीय वृद्धि
कर्मचारी सुविधातर्फ खर्च ठूलो परिमाणमा बढेको छ।
बीमा खर्च १.९५ करोड ले बढ्यो।
नेपाल लेखामान १९ अनुसार पेन्सन दायित्व गणनामा प्रयोग हुने दर ७.५% बाट ७% भएकोले अवकाश सम्बन्धी खर्च १६.५ करोड ले बढ्यो।
कुल मिलाएर कर्मचारी खर्च ८.८ करोड रुपैयाँ ले बढेको रिपोर्टमा उल्लेख छ।
४) दुर्गम क्षेत्रमा सेवा विस्तारको उच्च लागत
राष्ट्रिय सञ्चार दायित्व भएकाले टेलिकमले कम प्रतिफल तर उच्च लागत पर्ने दुर्गम, भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर लगानी गरिरहेकाले खर्च बढेको कम्पनीको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे