
काठमाडौँ । विसं २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। त्याग, साहस र इमानदार नेतृत्वका प्रतीकका रूपमा चिनिने सिंहले नेपालको लोकतान्त्रिक इतिहासमा गहिरो छाप छोडेका छन्।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंह विसं १९९७ मा स्थापना भएको पहिलो राजनीतिक दल प्रजा परिषद् मार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। राणा शासन विरुद्धको अभियानमा जेल परे पनि उनले भद्रगोल जेल फोरेर भागेर भारत पुग्दै बिपी कोइरालासँग मिलेर नेपाली राष्ट्रिय कांग्रेस स्थापनामा सहयोग गरे, जसले पछि नेपाली कांग्रेसको रूप लियो।
प्रजातन्त्र स्थापनाका लागि २००७ सालको आन्दोलनदेखि २०४६ सालको जनआन्दोलनसम्म उनले नेतृत्वदायी भूमिका निभाए। २०४६ को आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे पनि सिंहले त्यागपूर्वक कृष्णप्रसाद भट्टराईलाई अघि सारे।
विसं २०१७ देखि २०२५ सम्म उनले सुन्दरीजलमा लामो कारावास भोगे र पछि बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किए। विसं २०५४ असोज २ गते निधन भएका सिंहको सम्झनामा आज नेपाली कांग्रेसले देशभर कार्यक्रम आयोजना गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे