
काठमाडौँ । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन् । अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मियाको गरी पाँचवटा रिट सर्वोच्चमा पुर्याएका हुन् । त्यस्तै विमल पोखरेलले यसअघि नै रिट पेश गरेका छन् । रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ ।
गत भदौको जेन–जी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो । गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरु दर्ता खुला गर्ने निर्णय गरेपछि रिट दर्ता हुने क्रम जारी छ । असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे