
काठमाडौं । लगातारको वर्षाका कारण दुई दिन बन्द रहेका काठमाडौं जिल्लाका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहका कार्यालयहरू आज सोमबारबाट पुनः सञ्चालनमा आएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार राति सार्वजनिक सूचना जारी गर्दै मौसममा सुधार आएपछि असोज २० गते बिहान १० बजेदेखि सबै कार्यालय खुल्ने जानकारी दिएको हो। कार्यालय समयसम्म सेवा प्रवाह हुने र कर्मचारी उपस्थिति सुनिश्चित गर्न व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ। यसअघि असोज १९ र २० गते वर्षाका कारण राजधानी भित्रिने मार्ग अवरुद्ध भएपछि दुई दिन सार्वजनिक विदा घोषणा गरिएको थियो।
काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले जारी गरेको सूचनामा जोखिम घटिसकेकाले सेवा सुचारु गर्न आवश्यक व्यवस्था मिलाइएको उल्लेख छ। त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि आइतबार सूचना जारी गर्दै ललितपुर जिल्लाका सबै कार्यालयहरू आजदेखि खुल्ने जनाएको छ।
यसअघि गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नभएका जिल्लाका कार्यालयहरूलाई सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। असोज १७ गतेदेखि परेको वर्षाले करिब तीन दर्जन जिल्लामा प्रभाव पारेको र प्रभावित जिल्लामा राहत तथा उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे