
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सेवा पूर्ववत् सञ्चालनमा आएको छ। असोज १७ र १८ गते परेको लगातार वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो।
जमिन अझै भिजेको र कमजोर रहेकाले कुनै पनि बेला ढुंगा वा पहिरो खस्न सक्ने सम्भावना भएकाले यात्रु र चालकलाई सावधानी अपनाउन अनुरोध गरिएको छ। विशेषगरी राति यात्रा गर्दा जोखिम हुने भएकाले मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाडौं सडकमा सवारी साधन रोकेर राखिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार रातभर होल्ड गरिएका सवारीसाधनलाई आज बिहानदेखि गन्तव्यतर्फ पठाइएको छ। नारायणगढको आपटारी क्षेत्रमा रोकेर राखिएका पोखरा र काठमाडौं जाने सवारीसाधन समेत बिहानदेखि छुट्टिएका छन्।
जिल्लाका १४ स्थानमा बनाइएका होल्डिङ सेन्टरमा रोकिएका लामो तथा छोटो दूरीका बस र अन्य सवारीसाधन अहिले आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्। सडक सुचारु भए पनि यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे