
काठमाडौं, भाद्र २ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन अब केवल भविष्यको कुरा नभई आजको वास्तविक समस्या भएको बताएकी छन्। उनले जलवायु संकट कुनै सिमा, देश वा राजनीति नचिन्ने साझा समस्या भएकाले यसको समाधानका लागि सबै देश मिलेर काम गर्नुपर्ने बताइन्।
काठमाडौंमा सुरु भएको हिन्दकुश हिमालय क्षेत्रका सांसदहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनले नेपालजस्ता हिमाली देशलाई विशेष प्रभाव पारेको र सरकार मात्रले हैन, सबैको साझा प्रयास जरुरी भएको उल्लेख गरिन्।
डा. राणाले भारत, पाकिस्तान र नेपालमा आएको बाढीले जनधनको ठूलो क्षति भएको र यसको मुख्य असर हिमालय क्षेत्रमा परेको उदाहरण दिइन्। उनले नेपालको कार्बन उत्सर्जन अत्यन्तै कम भए पनि असरचाहिँ अत्यधिक परेको भन्दै नेपालले “जलवायु अन्याय” भोगिरहेको बताइन्।
उनले सगरमाथा संवादको प्रसंग पनि उठाउँदै, वैश्विक नेताहरूले जलवायु संकट समाधानका लागि २५ बुँदे कार्ययोजना तयार गरेको जानकारी दिइन्। अन्तमा, उनले जलवायु जस्तो गम्भीर संकट समाधान गर्न कानुनी, आर्थिक र नीतिगत रूपमा सबै देश एक भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे