
पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबा साइबर अपराध मुद्दामा पोखराबाट पक्राउ परेकी छन्। नेपाल प्रहरीको साइबर ब्युरोको अनुरोधमा, उनलाई मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले वाइबालाई साइबर अपराध अन्तर्गतको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट साउन २६ गते जारी पक्राउ पुर्जीको आधारमा पक्राउ गरिएको जानकारी दिए।
‘साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी थियो,’ एसपी ओलियाले भने, ‘जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। अब वाइबालाई थप कारबाहीका लागि काठमाडौं पठाइनेछ।’ वाइबाविरुद्ध उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
शर्मिला वाइबा यसअघि पनि विवादास्पद अभिव्यक्तिहरूका कारण चर्चामा आइसकेकी छिन्। २०८० सालको चैतमा, उनी कुटपिट तथा अंगभंग र साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेकी थिइन्। त्यतिबेला उनले कुटपिटमा १० हजार र साइबर मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा रिहा पाएकी थिइन्।
वाइबा सामाजिक सञ्जाल तथा युट्युबजस्ता माध्यमहरूमा भड्किलो रूपमा प्रस्तुत हुँदै आएकी छन्। प्रहरीले अब उनलाई काठमाडौं ल्याएर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे