
काठमाडौँ । देशभर हाल मनसुन सक्रिय रहेकाले अधिकांश स्थानमा वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सामान्य स्थानको आसपासमा र पूर्व क्षेत्रमा सामान्य स्थानभन्दा केही उत्तरतर्फ सरेको छ।
महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। विशेषगरी कोशी, बागमती, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने चेतावनी दिइएको छ।
आज राति लुम्बिनी प्रदेशसहित देशका पहाडी भागमा सामान्यदेखि पूर्ण बदली रहन सक्नेछ भने तराईका बाँकी भूभागमा आंशिक बदली हुने जनाइएको छ। रातिको समयमा पनि लुम्बिनी र अन्य पहाडी भेगका केही स्थानमा, साथै तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले लगातारको वर्षाले पहिरो, बाढी र जलमग्नता हुने जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे