
झापा — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दमक नगरपालिका–१० स्थित मदनडाँगी (ताराबारी) डिपो सडक स्तरोन्नती आयोजनाको उद्घाटन गरेका छन्। विश्व बैंकको सहयोगमा सञ्चालित गौरवको आयोजनाका रूपमा रहेको यो सडक नेपालभरका १७ नमूना सडकमध्ये एक मानिएको छ।
कुल ४४ करोड २४ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको ४.८६ किलोमिटर लामो सो सडक निर्धारित समयमै सम्पन्न भई उत्कृष्ट आयोजनाका रूपमा स्थापित भएको प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा उल्लेख गरे। उनले सरकार मेचीदेखि महाकालीसम्म विकास निर्माणमा समर्पित रहेको र त्यही क्रमको एक भाग स्वरूप यो आयोजनाले स्थान पाएको स्पष्ट पारे।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले दमकको बेलडाँगी क्षेत्रमा बहुउद्देश्यीय विशाल रंगशाला निर्माण गर्ने घोषणा गर्दै पूर्वी नेपाललाई खेलकुद तथा सामाजिक गतिविधिको केन्द्र बनाउने लक्ष्य लिएको बताए। साथै उनले शिक्षा क्षेत्रमा गरिएको डिजिटल प्रयोगको सन्दर्भ उठाउँदै निःशुल्क अनलाइन कक्षाहरूले यस वर्ष एसइई परीक्षाको नतिजा १३ प्रतिशतले सुधार भएको दाबी गरे।
हालैको स्पेन भ्रमणप्रति लक्षित भ्रामक टिप्पणीको जवाफ दिँदै उनले राष्ट्रहितको यात्रालाई अपहेलना गर्ने मानसिकता गलत भएको जनाउँदै अनावश्यक विरोध र अफवाहप्रति प्रतिक्रिया जनाउनु आवश्यक नरहेको प्रतिक्रिया दिए।
उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरू शेरधन राई र उद्वव थापा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे