
काठमाडौं ।आज नेपालभर विभिन्न कार्यक्रमहरूमार्फत विश्व जनसंख्या दिवस २०२५ मनाइँदैछ। हरेक वर्ष जुलाई ११ मा मनाइने यो दिवस सन् १९८७ मा विश्व जनसङ्ख्या करिब पाँच अर्ब पुगेको अवसरमा आयोजित ‘पपुलेशन समिट’ ले पहिलोपटक घोषणा गरेको थियो। त्यसबेलादेखि नै जनसंख्या वृद्धि, प्रजनन् स्वास्थ्य, मानव अधिकार तथा दिगो विकासका सवालहरूलाई विश्वव्यापी रूपमा उठान गर्दै यो दिवस मनाउने गरिन्छ।
यस वर्षको विश्व जनसंख्या दिवस २०२५ को मूल विषयवस्तु ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ रहेको छ। साथै, यसले आर्थिक अनिश्चितता, लैङ्गिक असमानता, जलवायु संकट लगायतका समसामयिक विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्दै सबै नागरिकमा शिक्षा, स्वास्थ्य सेवा, र परिवार नियोजनजस्ता जीवनस्तर सुधार्ने सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
विशेषगरी युवाहरूलाई सशक्त र सक्षम बनाउन उनीहरूका लागि सुरक्षित र सुलभ प्रजनन् स्वास्थ्य सेवा, शिक्षामा समान अवसर, र निर्णय लिने अधिकार सुनिश्चित गर्नु आवश्यक रहेको विषयगत वक्तव्यहरूमा उल्लेख गरिएको छ। यसै सन्दर्भमा, विभिन्न सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था तथा संघसंस्थाहरूले जनचेतनामूलक कार्यक्रम, गोष्ठी र संवादका माध्यमबाट दिवस मनाउँदैछन्।
संसारभर बढ्दो जनसङ्ख्याले उत्पन्न गरिरहेका सामाजिक, आर्थिक र वातावरणीय असरहरूलाई समाधान गर्न समन्वित प्रयास आवश्यक रहेको र दिगो विकास लक्ष्य (SDG) प्राप्तिका लागि मानव विकास र अधिकारलाई केन्द्रमा राख्नुपर्नेमा विज्ञहरूद्वारा जोड दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे