
काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदैछ। ज्ञान प्रदान गर्ने गुरुजनप्रति आदर र सम्मान प्रकट गर्ने यो पर्वले शिक्षाको महत्व र गुरु–शिष्य सम्बन्धलाई उजागर गर्छ।
‘गु’ भन्नाले अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने अर्थ बुझिन्छ। अर्थात्, अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानरूपी प्रकाश फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। तन्त्रशास्त्र र धर्मशास्त्रका ग्रन्थहरूमा पनि गुरुको यही महत्व उल्लेख गरिएको पाइन्छ।
जीवनका अनेक समस्या र द्विविधाको समाधान असल गुरु प्राप्ति र छनोटमा निर्भर हुने भनाइ रहेको छ। तर, आजको प्रविधि र विज्ञानको युगमा असल गुरु र असल शिष्य दुबैको पहिचान चुनौतीपूर्ण बन्न पुगेको छ। एकलव्यले द्रोणाचार्यको मूर्ति स्थापना गरी शिक्षा लिएको पुरानो कथाजस्तो गुरुप्रति समर्पण अबका पुस्ताहरूमा कम देखिन्छ। न त गुरुदक्षिणाका रूपमा औँला नै काटेर दिने बलिदान आवश्यक छ।
आज शिक्षाको स्वरूप र गुरुहरूको भूमिकामा व्यापक परिवर्तन आएको छ। विद्यालय, विश्वविद्यालय, विभिन्न शिक्षण संस्थान, सञ्चारका माध्यमहरू तथा इन्टरनेट स्वयं पनि ज्ञानप्राप्तिका सशक्त साधन बन्न पुगेका छन्। गुगल, युट्युब र डिजिटल स्रोतहरू आधुनिक पुस्ताका नयाँ गुरुका रूपमा स्थापित भएका छन्।
तर, गुरु तत्त्व कहिल्यै लोप हुँदैन। शिक्षा न आकाशबाट वर्षिन्छ, न आकाशवाणीका रूपमा प्रसारित हुन्छ। ज्ञानका स्रोतहरू र हस्तान्तरणकर्ताहरू नै आजका गुरु हुन्। यसर्थ, गुरु पूर्णिमाको परम्परागत मूल्यलाई स्मरण गर्दै नयाँ पुस्ताले पनि ज्ञान र शिक्षालाई सम्मान गर्नुपर्छ। गुरु पूर्णिमाको अवसरले आधुनिक युगमा पनि शिक्षक र ज्ञानप्रदायक व्यक्तिहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे