
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई पुनः हतियार आपूर्ति गर्ने घोषणा गरेका छन्। उनका अनुसार, युक्रेनलाई उपलब्ध गराइने हतियारहरू आत्मरक्षाका लागि प्रयोग हुनेछन्, जसले रूससँगको युद्धमा आफ्ना सीमाहरू र सार्वभौमिकताको रक्षा गर्न मद्दत गर्नेछ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्टि व्यक्त गरे। उनले स्पष्ट रूपमा भने, ‘इमानदारीका साथ भन्नुपर्दा, म निराश छु, पुटिनले अझैसम्म आफ्ना आक्रामक गतिविधिहरू रोक्न मानेका छैनन्।’
ट्रम्पले विगतमा युद्धविरामका लागि रूस र युक्रेन दुबै पक्षसँग पटक–पटक वार्ता गरे पनि पुटिनले युद्ध रोक्न अस्वीकार गर्दै आएका छन्। यसअघि जुलाई १ मा अमेरिकी हतियार भण्डारमा आएको कमीका कारण युक्रेनलाई हतियार आपूर्तिमा अस्थायी रोक लगाइएको थियो। उक्त निर्णयमा अमेरिकी रक्षा सचिव पीट हेगसेथले हस्ताक्षर गरेका थिए।
तर पछिल्लो निर्णयअनुसार, अमेरिका फेरि युक्रेनलाई हतियार आपूर्ति गर्न तयार भएको छ। यस कदमले युक्रेनको आत्मरक्षा क्षमतालाई मजबुत बनाउने विश्वास गरिएको छ।
यता, रुसले भने अमेरिकाको आरोप अस्वीकार गर्दै युक्रेनमा हतियार आपूर्ति अमेरिकाले कहिल्यै रोकिएको छैन भन्ने दाबी गरेको छ। क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले अमेरिकाले आफ्ना हतियार भण्डार खाली भएर आपूर्ति रोकेको भन्नु पूर्ण रूपमा असत्य भएको प्रतिक्रिया दिएका छन्।
रूस र युक्रेनबीचको युद्ध सन् २०२२ फेब्रुअरी २४ देखि जारी छ। अमेरिका युद्ध सुरुदेखि नै युक्रेनलाई सैन्य सहायता दिँदै आएको छ। हालसम्म युक्रेनले अमेरिकी सहयोगमा हवाई रक्षा प्रणाली, ड्रोन, रकेट लन्चर, राडार, ट्याङ्क तथा एन्टी-राडार हतियारहरू प्राप्त गरिसकेको छ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले थप सैन्य सहयोगका लागि अमेरिका र युरोपेली साझेदारहरूसँग आग्रह गर्दै आफ्नो देशको वायु रक्षा प्रणाली र ड्रोन उत्पादन क्षमता विस्तार गर्न आवश्यक रहेको बताएका छन्। युक्रेनले हालै युरोपेली देशहरू र अमेरिकी कम्पनीहरूसँग सहकार्य गर्दै ड्रोन उत्पादनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ। यस सम्झौता अनुसार यसै वर्ष युक्रेनले लाखौं ड्रोनहरू प्राप्त गर्नेछ।
अमेरिकाको यो नयाँ निर्णयसँगै युक्रेनको सैन्य क्षमता थप मजबुत हुने र रूससँगको युद्धमा थप प्रतिरोध गर्न सक्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे