
काठमाडौँ — हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी लगायतका पहाडी भूभागमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात सम्भावित छ।
रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र र अन्य केही भागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ। नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, जनजीवन, यातायात, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक तयारी गर्न आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे