
काठमाडौं — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव पनि देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी क्षेत्रमा सामान्य बदली रही, अन्य ठाउँमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार सुदूरपश्चिमका धेरै र अन्य प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा, कर्णाली, सुदूरपश्चिम र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात पनि हुन सक्छ।
वर्षाका कारण भू–क्षय, बाढी, पहिरो, डुबान तथा खोलानालामा बहाव बढ्ने जोखिम रहेकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ। सडक, हवाई यातायात, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा असर पर्न सक्ने सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे