
काठमाडौं, असार १९ । वरिष्ठ पत्रकार तथा टेलिभिजन प्रस्तोता दिलभूषण पाठकमाथि साइबर अपराध सम्बन्धी मुद्दा दायर भएपछि उनी आज (बुधबार) जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। नेपाल प्रहरीले उनीविरुद्ध युट्युबमार्फत समाजमा घृणा, द्वेष र भ्रम फैलाएको आरोप लगाउँदै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरेको थियो।
नेपाल प्रहरीको साइबर ब्यूरोले असार १६ गते दिलभूषण पाठकविरुद्ध सार्वजनिक गुनासोका आधारमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि ब्यूरोले अभद्र र आपत्तिजनक अभिव्यक्ति, जातीय विद्वेष फैलाउने सामग्री र मानहानी हुने किसिमका आरोपहरू समावेश भएको भन्दै अभियोगपत्र जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेको हो।
पाठकले सञ्चालन गर्ने “द फ्रन्टलाइन” नामक युट्युब कार्यक्रममार्फत सार्वजनिक गरिएको केही विवादास्पद अन्तर्वार्ता र टिप्पणीहरू आधार बनाइएको प्रहरीले जनाएको छ। आज अदालतमा पेश भएपछि दिलभूषण पाठकमाथि अब थुनछेक बहस हुनेछ। अदालतले उनीमाथि थुनामा राखेर अनुसन्धान गर्नुपर्ने कि साधारण तारेखमा छाड्नुपर्ने भन्ने विषयमा दुबै पक्षको बहसपछि निर्णय गर्नेछ।
जिल्ला सरकारी वकिल कार्यालयले थुनामा राख्नुपर्ने माग गर्ने सम्भावना छ भने, पाठकका तर्फबाट साधारण तारेखमा रिहा गर्नुपर्ने मागसहित कानुनी प्रतिवाद गरिनेछ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत अभियोग लाग्ने अनुमान गरिएको छ। यस दफामा “कुनै व्यक्ति वा संस्थालाई मानहानी पुग्ने, त्रास उत्पन्न हुने, अपहेलनायुक्त वा अश्लील सामग्री प्रकाशन वा प्रसारण गरेमा” कारबाही गर्न सकिने उल्लेख छ। दोषी ठहर भएमा २ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे