
काठमाडौँ — नेकपा एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज दुराको राजीनामा माग गरेका छन्। बुधबार बसेको समिति बैठकमा गिरीले दुवै जनाले नैतिक आधारमा पद त्याग गर्नुपर्ने बताएका हुन्।
उनले भनिरहेका थिए, “नैतिकताको हिसाबले अब तपाईंहरू दुबै जनाले यो समितिको नेतृत्व गर्ने अवस्था छैन। सभापतिज्यू, तपाईंले छानबिन र कारबाहीको प्रक्रिया सहज बनाउनका लागि मार्गप्रशस्त गर्नुहुन्छ भन्ने अपेक्षा गर्छु। सचिवज्यू, तपाईंको पनि यो पदमा बसिरहन मिल्दैन।”
गिरीको टिप्पणी हालै संसद्मा ‘कुलिङ पिरियड’सम्बन्धी विधेयकमा समितिको निर्णय विपरीत हेरफेर भएको विवादसँग जोडिएको हो। उनले यस्तो संवेदनशील विषयमा गैरजिम्मेवार भूमिका खेलेको भन्दै नेतृत्व परिवर्तन अपरिहार्य भएको धारणा राखे।
यसअघि पनि समितिमा विधेयकको हेरफेर कसले गर्यो भन्नेबारे छानबिनको माग हुँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे