
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेको बताउनुभयो। अतिकम विकसित देशहरूको समूहको अध्यक्षका रूपमा सम्बोधन गर्दै उहाँले नियममा आधारित, समतामूलक विश्वव्यापी व्यापार प्रणालीको पक्षमा रहेको स्पष्ट पार्नुभयो।
उहाँले सन् २०१५ को ‘अदिस अबाबा’ प्रतिबद्धता र सन् २०३० कार्यसूचीमा कसैलाई पछाडि नछोड्ने सन्देश दोहोर्याउँदै अहिले पनि अतिकम विकसित देशहरू असमानता, ऋण वृद्धि, कमजोर पूर्वाधार, प्राविधिक खाडल र जलवायु परिवर्तनका कारण प्रभावित भइरहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको आवाज सुन्ने, न्यायोचित आर्थिक प्रणाली बनाउने र ओडिए प्रतिवद्धता पूरा गर्न विकास साझेदारहरूलाई आह्वान गर्नुभयो। उहाँले ‘सेभिया प्रतिबद्धता’लाई सबैका लागि साझा समृद्धि र स्तरोन्नतिको उत्प्रेरक बनाउनु पर्नेमा जोड दिनुभयो।
नेपाल सन् २०२६ मा अतिकम विकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको जानकारी दिँदै विकास साझेदारको बलियो सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे