
काठमाडौँ । स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजबीच सेभिल्लामा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेन भ्रमणमा रहनुभएको हो।
भेटवार्तामा दुई देशबीचको सम्बन्ध विस्तार र सहयोगका सम्भावित क्षेत्रहरूबारे गहिरो छलफल भएको थियो। विशेषगरी पर्यटन, जलवायु परिवर्तन, लगानी प्रवर्द्धन, जनता–जनताबीच सम्पर्क विस्तार लगायतका विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ।
प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुका साथै नेपालमा स्पेनको दूतावास स्थापना गर्न आग्रह गर्नुभयो। जवाफमा स्पेनका प्रधानमन्त्री साञ्चेजले राष्ट्रसङ्घको शान्ति मिसनमा नेपालले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।
द्विपक्षीय भेटमा प्रधानमन्त्री ओलीसँगै मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालको सहभागिता रहेको थियो। प्रधानमन्त्री ओली मेड्रिड हुँदै सेभिल्ला आइपुग्नुभएको हो। उक्त भेटवार्ताले नेपाल–स्पेन सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे