
काठमाडौं — टेराम्याक्स प्रविधि खरिदमा भ्रष्टाचारको आरोप लागेका पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन्।
पूर्वमन्त्री बस्नेतले आफैँ अदालतमा उपस्थित भइ बयान दिन पाउँ भनी निवेदन दिएका थिए। उनको बयान विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भइरहेको छ।
बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। उक्त बहसपछि अदालतले बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा छोड्ने भन्ने निर्णय गर्नेछ।
बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बेला टेराम्याक्स प्रविधि खरिद प्रक्रिया अघि बढाइएको थियो। यस प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते दायर गरेको मुद्दामा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग गरिएको छ।
यस मुद्दाले नेपाली दूरसञ्चार क्षेत्रको ठूला खरिद प्रक्रियामा हुने अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे