
सुनसरी – सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ बासबिटीमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीनजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
दुर्घटना कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा भएको हो।
मृत्यु हुनेमा इनर्चन चौधरी (३४), उनका नौ वर्षीय छोरा प्रनिष चौधरी, र अर्को मोटरसाइकलका चालक बिन्दु यादव (५१) रहेका छन्। उनीहरूलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, तर उपचारका क्रममा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा इनर्चन चौधरीकी श्रीमती प्रतीक्षा चौधरी (३२) र बिन्दु यादवसँग सवार इटहरी–७ का रमेश चौधरी (३६) गम्भीर घाइते भएका छन्। उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे