
काठमाडौँ- देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा अन्य पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ भने मधेश प्रदेशमा आंशिक बदलीसहित मौसम मुख्यतया सफा रहेको छ। केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, सुदूरपश्चिमलगायत पहाडी भूभागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्छ।
साँझपछि पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भूभागमा हल्का देखि मध्यम वर्षा तथा हिमपात हुनसक्ने जनाइएको छ। कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।
महाशाखाले नदीमा पानीको सतह बढ्ने, बाढी, पहिरो, भूक्षयजस्ता जोखिम बढ्नसक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। जनजीवन, यातायात, कृषि तथा स्वास्थ्यमा असर पर्ने सम्भावना रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे