
काठमाडौं ।कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि सोमबार बेलुकीदेखि बन्द गरिएको हवाई क्षेत्र (एयरस्पेस) आजदेखि पुनः खुला गरिएको छ। कतारको नागरिक उड्डयन प्राधिकरणले देशको हवाई यातायात पुनः सामान्य अवस्थामा फर्किएको घोषणा गर्दै उडानहरू सञ्चालनमा आएको जानकारी दिएको छ।
कतार एयरवेजको उडान पुनः सुरु
हवाई क्षेत्र खुलाउने निर्णयसँगै कतार एयरवेजले दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल लगायतका प्रमुख विमानस्थलहरूबाट आफ्नो नियमित उडान पुनः सुरु गर्ने घोषणा गरेको छ। यद्यपि कम्पनीले सुरुवाती चरणमा उडान तालिकामा केही ढिलाइ हुन सक्ने जानकारी दिएको छ।
कतारको अवस्था सामान्य, नागरिकलाई त्रसित नहुन आग्रह
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले देशको अवस्था हाल स्थिर रहेको भन्दै जनजीवन सामान्य बन्दै गएको बताएका छन्। “हामी नागरिक र बासिन्दालाई आश्वस्त पार्न चाहन्छौं कि कतार सुरक्षित छ,” उनले कतार टेलिभिजनमार्फत बताएका छन्।
नेपालसहित विश्वभरका उडान प्रभावित
इरानी आक्रमणपछि कतारले आकस्मिक रूपमा हवाई आकाश बन्द गर्दा नेपालसहित विभिन्न देशहरूका उडानहरू प्रभावित भएका थिए। नेपालबाट कतार उड्न लागेका कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका उडानहरू सोमबार बेलुकी अकस्मात् रद्द गर्दा यात्रुहरू अलमलमा परेका थिए।
वैदेशिक रोजगारीका लागि हिँडेका नेपाली अलपत्र
विशेषगरी वैदेशिक रोजगारीका लागि कतार तथा अन्य खाडी मुलुकतर्फ जाँदै गरेका नेपाली श्रमिकहरू उडान रद्द भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परेका थिए। कतिपय यात्रुहरू अध्यागमन प्रक्रिया पूरा गरी अन्तिम सुरक्षा जाँच सकेर जहाज चढ्न तयारी अवस्थामा थिए। तर, इरानले कतारस्थित अमेरिकी सैन्य अड्डा ‘अल उदेइद’मा मिसाइल आक्रमण गरेको सूचना पाएपछि उनीहरू अन्योलमा परेका थिए।
कतार ट्रान्जिटमार्ग बनेका यात्रुहरू पनि प्रभावित
कतारलाई ट्रान्जिट बनाएर अमेरिका, युरोप तथा अन्य मुलुक जाने यात्रुहरूको उडान पनि प्रभावित भएको थियो। कतिपय यात्रुहरू विमानस्थलको चिसो भुइँमै सुतेर रात कटाउन बाध्य भएका थिए। नेपालबाट दोहातर्फ उडेको एउटा विमान त ओमानतर्फ डाइभर्ट गरिएको थियो।
यो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे