
काठमाडौँ । अमेरिकी विदेश विभागले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसा अपोइन्टमेन्टको तालिका चाँडै पुनः सुरु गरिने जनाएको छ। विभागका अनुसार भिसा आवेदन प्रक्रियामा सामाजिक सञ्जाल खाता पनि अनिवार्यरूपमा जाँच गरिनेछ।
विदेश विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संयुक्त राज्य अमेरिका प्रवेशका लागि अयोग्य ठहरिन सक्ने वा राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने आवेदकहरूको पहिचान गर्न हामी उपलब्ध सबै जानकारीको प्रयोग गर्छौं।” त्यस क्रममा आवेदकको अनलाइन गतिविधि, विशेषगरी सामाजिक सञ्जालको उपस्थिति, प्राथमिक जाँचको विषय हुने जनाएको छ।
यसै सन्दर्भमा, सबै आवेदकहरूलाई आफ्नो सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ सार्वजनिक राख्न निर्देशन दिइने बताइएको छ। सामाजिक सञ्जालमार्फत दिइएको सामग्री, विचार वा सम्पर्कहरू पनि भिसा प्रक्रियामा महत्त्वपूर्ण आधार बन्ने छन्।
विदेश विभागले विश्वभरका अमेरिकी दूतावास तथा वाणिज्य दूतावासहरूमा विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टहरू पुनः सुरु गर्ने तयारी भइरहेको स्पष्ट पारेको छ।
यसअघि, तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका अपोइन्टमेन्ट रोक्न आदेश दिएका थिए। ट्रम्प प्रशासनका पालामा सामाजिक सञ्जाल निगरानीलाई भिसा जाँचको अभिन्न अङ्ग बनाउने योजना अघि सारिएको थियो।
अब, उक्त नीतिलाई अझ कडाइका साथ कार्यान्वयन गर्ने तयारीमा अमेरिकी विदेश विभाग जुटेको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे