
काठमाडौं । अमेरिकाबाट निष्कासन गरिएका ४० भन्दा बढी नेपाली नागरिकलाई आज चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याइँदैछ। आज अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने जानकारी अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले दिएका छन्।
बसोबासको वैध कागजातविना अमेरिका पुगेका नेपालीहरूलाई त्यहाँका सुरक्षा निकायले पक्राउ गरी देशनिकाला गरेको हो। सुरुमा ५० जनालाई पठाइने भनिए पनि ल्याइने संख्या ४० देखि ५० को बीचमा रहने बताइएको छ। अमेरिकाबाट एकै पटक यति ठूलो संख्यामा नेपालीलाई निष्कासन गरिनु यो पहिलोपटक हो।
अमेरिकी समाचार स्रोतहरूका अनुसार निष्कासनको सूचीमा परेका केही व्यक्तिमाथि अझै अनुसन्धान भइरहेकाले उनीहरू तत्काल नपठाइएको जनाइएको छ। काठमाडौँ ल्याइएका नेपालीहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोको जिम्मा दिइनेछ। प्रारम्भिक अनुसन्धानमा ती नेपालीहरू मानव तस्करलाई प्रति व्यक्ति करिब एक करोड रुपैयाँ बुझाएर अमेरिका पुगेको देखिएको छ। तस्करीको मार्गबाट अमेरिका प्रवेश गरेका कारण उनीहरूलाई त्यहाँबाट फिर्ता पठाइएको हो। घटना मानव तस्करीको सञ्जालबारे गम्भीर चिन्ताको विषय बनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे