
काठमाडौं, जेठ ६ – गृहमन्त्री रमेश लेखकले संवेदनशील र गोप्य सूचनाहरू सबैलाई दिन नपर्ने बताएका छन्। राष्ट्रिय सूचना आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शान्ति, सुरक्षा, कूटनीति र प्रतिरक्षासँग सम्बन्धित सूचनाहरू सार्वजनिक गर्दा मुलुकमा अराजकता फैलिन सक्ने बताए।
उनले भने, “सूचनाको हक सबै नागरिकको अधिकार हो, तर जे सूचना माग्यो, त्यो सबै दिनुपर्छ भन्ने छैन। कतिपय सूचना गोप्य र संवेदनशील हुन्छन्, जसले मुलुकको स्थायित्वमा असर गर्न सक्छ।” गृहमन्त्रीले भने, सूचना माग्ने नागरिकको अधिकारजस्तै, राज्यको सुरक्षा बचाउने पनि कर्तव्य हो। उनले सूचना दिन नमिल्ने भए त्यसको कारण खुलाएर लेखेर दिनुपर्ने सुझाव दिए।
“सूचनाको हकको रेफ्री भनेकै सूचना आयोग हो,” उनले भने, “संविधानको व्यवस्था सन्तुलित रूपमा बुझ्न जरुरी छ।” साथै, उनले सूचना लुकाउन नहुने तर गोप्य विषयमा सावधानी अपनाउनुपर्ने बताए। कार्यक्रममा मन्त्रालयस्तरीय सूचना अधिकारीहरू सहभागी थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे