
काठमाडौँ, जेठ ५ – संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे तय भएको छ।
प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ।
संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार, आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव पेश गर्ने सम्भावना छ। पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गरिने कार्यसूची रहेको छ।
राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ पेस गर्ने कार्यक्रम छ। सरकारले यस विधेयकमार्फत चलचित्र क्षेत्रलाई थप मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउने लक्ष्य राखेको छ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची पनि बैठकमा समावेश गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे