
काठमाडौँ, जेठ २ — जलवायु परिवर्तन र त्यसको असरबारे विश्व समुदायलाई जानकारी गराउन र समाधानका उपाय खोज्न सरकारको पहलमा पहिलोपटक आयोजित ‘सगरमाथा संवाद’ आजदेखि काठमाडौँमा सुरु हुँदैछ। “जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य” भन्ने नारासहितको यो कार्यक्रम जेठ ४ गतेसम्म चल्नेछ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार संवादमा करिब १७५ विदेशी पाहुना र त्यति नै संख्यामा नेपाली सहभागी हुनेछन्। चीन, भारतलगायत १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुनेछन् भने अन्य देशका विशिष्ट अतिथिहरू पनि आउँदैछन्।
उद्घाटन समारोहमा जलवायु परिवर्तनसम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ। भारत, चीन, अजरबैजान लगायतका विशिष्ट अतिथिहरूले सम्बोधन गर्ने छन्। साथै, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सन्देश पनि भिडियोमार्फत प्रस्तुत गरिनेछ।
संवादमा मुख्य सत्र (प्लेनरी सेसन) सहित विभिन्न विषयमा समानान्तर सत्रहरू हुनेछन्। सहभागी देश, अन्तर्राष्ट्रिय संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र, नागरिक समाजलगायत ६१ वटा संस्थाले भाग लिने छन्।
कार्यक्रम व्यवस्थापनका लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति, परराष्ट्रमन्त्रीको संयोजकत्वमा व्यवस्थापन समिति र सचिवालय गठन गरिएको छ। अन्तिम दिन पाहुनाहरूका लागि हिमाल हेर्ने पर्वतीय उडानको व्यवस्था गरिएको छ र “काठमाडौँ घोषणा” जारी गरिनेछ। सरकार हरेक दुई वर्षमा यस्तो संवाद आयोजना गर्ने तयारीमा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे