
एजेन्सी — भारत र पाकिस्तानबीच जारी सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै जी–सेभेन (G7) समूहका राष्ट्रहरूले दुवै देशलाई प्रत्यक्ष वार्तामा बस्न आग्रह गरेका छन्। पछिल्ला दिनमा भएको मिसाइल आक्रमण र आक्रमणको आरोप–प्रत्यारोपबीच तनाव झनै चुलिँदै गएको अवस्थामा सात ठूला औद्योगिक राष्ट्रहरूको समूहले शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको हो।
जी–सेभेन समूहमा अमेरिका, बेलायत, फ्रान्स, जापान, इटाली, जर्मनी र क्यानाडा रहेका छन्। यी देशहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै भारत र पाकिस्तान दुवै आणविक शक्ति भएका मुलुक भएकोले द्वन्द्वले विश्व शान्तिमा असर पार्न सक्ने चेतावनी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, “हामी भारत र पाकिस्तानलाई संयमता अपनाउन, प्रत्यक्ष संवादमार्फत समाधान खोज्न र थप हिंसा टार्न आग्रह गर्छौं।” भारतले पाकिस्तानमाथि आतंककारी आक्रमणमा संलग्न भएको आरोप लगाउँदै सैन्य कारबाही शुरू गरेको छ भने पाकिस्तानले पनि जवाफी हमला गरेको दाबी गरेको छ। जी–सेभेनको अपिलपछि अब अन्तर्राष्ट्रिय समुदायको ध्यान भारत–पाकिस्तानको निर्णयतर्फ केन्द्रित भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे