
काठमाडौं– तीनै तहका सरकारहरूको सहकार्यमा स्वास्थ्य सेवा सुधार गर्नेतर्फ अग्रसर हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार विषयगत समितिको दोस्रो बैठक सम्पन्न गरेको छ। बैठकले स्वास्थ्य सेवा सुधारमा नागरिक अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले स्थानीय तहमा निर्माण सम्पन्न भएका आधारभूत अस्पतालहरूलाई स्वास्थ्य प्रवर्द्धनात्मक अस्पतालको रूपमा सञ्चालन गर्ने प्रस्तावलाई अघि बढाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाहरूको राष्ट्रिय रणनीति परिमार्जन गर्नेसहित स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालयको अवधारणालाई कार्यान्वयन गर्ने विषयमा पनि सहमति जुटेको छ।
त्यस्तै, नसर्ने रोगहरूको स्क्रिनिङ अभियान सञ्चालन गर्ने योजना तय गरिएको छ। फागुन महिनामा तीनै तहका सरकारहरूको समन्वयमा ५ लाख ३०–५० वर्षका महिलाहरूको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने लक्ष्य राखिएको छ। औषधी विधेयक २०८१ लाई अघि बढाउने र स्वास्थ्य सेवा ऐनको मस्यौदा तयार गरी प्रदेश सरकारहरूको राय संकलन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
पोलियो उन्मूलनका लागि संक्रमणकालीन योजना कार्यान्वयन गर्ने विषयमा तीनै तहका सरकारहरूले सहकार्य गर्ने सहमति भएको छ। यसैगरी, शहीद गंगालाल हृदय केन्द्रमार्फत प्रदेश सरकारहरूसँगको सहकार्यमा मुटु स्वास्थ्य सेवा विस्तार गर्नेबारे सकारात्मक छलफल गरिएको छ।
बैठकले लिएको यी निर्णयहरूले स्वास्थ्य क्षेत्रमा प्रभावकारी सुधार ल्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे