
काठमाडौँ, नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक आज काठमाडौँमा सम्पन्न भएको छ। बैठकले दुई देशबीचको व्यापार विस्तार र आर्थिक सम्बन्धलाई सुदृढ गर्न विभिन्न विषयमा सहमति गरेको छ।
बैठकमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताए। उनले आयात-निर्यातका समस्याहरूलाई सहज रूपमा समाधान गर्न दुवै पक्षले समन्वय गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बैठकबाट प्रस्तुत विषयहरूको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताएका थिए। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुवै देशबीच आर्थिक सम्भावना धेरै रहेको उल्लेख गर्दै समस्या समाधानका लागि नीतिगत सुधार र व्यावहारिक उपाय आवश्यक रहेको औंल्याए।
बैठकमा गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातका क्रममा बिआइएस प्रमाणीकरण प्रक्रियामा देखिएका समस्याहरू समाधान गर्ने, भैरहवा र पोखरा विमानस्थललाई भारतका सहरसँग जोड्ने तथा जलविद्युत् परियोजनाका लागि विस्फोटक पदार्थ आपूर्तिमा सहजीकरण गर्ने सहमति भएको थियो।
यसैगरी, नेपाली प्रतिनिधिले भारतीय बन्दरगाहहरू जस्तै मुन्द्रा, धामरा र जवाहरलाल नेहरू बन्दरगाहमा नेपालको पहुँच विस्तार गर्नुपर्ने माग गरेका थिए। संयुक्त बैठकमा व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासका विषयमा विस्तृत छलफल भएको थियो।
बैठकले जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य तथा वायुप्रधान परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने, सीमापार व्यापार र लगानीलाई प्रवर्द्धन गर्ने, कृषि उत्पादनको कोटा हटाएर आधुनिक बीउ र प्रविधि उपलब्ध गराउने तथा डिजिटल प्रविधि र स्टार्टअपमा सहकार्य गर्ने सहमति गरेको छ।
बैठकमा भएका सहमति नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्की र भारतीय वाणिज्य सचिव सुनिल वर्थवाललाई हस्तान्तरण गरिएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले बैठकलाई दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण ठहर गर्दै सहमतिहरू कार्यान्वयनमा पहल गरिने बताए।
बैठकको समापनमा नेपालका मञ्च अध्यक्ष भवानी राणाले नेपाल–भारतबीचको व्यापार र लगानीका सम्भावनालाई उपयोग गर्न आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिइन्। भारतीय प्रतिनिधि एन सुनिल कुमारले दुवै देशबीचको सडक, रेल र हवाई कनेक्टिभिटीमा भइरहेको सुधारले थप सहजता ल्याउने विश्वास व्यक्त गरेका थिए।
संयुक्त व्यापार मञ्चको तेस्रो बैठक भारतको नयाँ दिल्लीमा आयोजना गरिने सहमति भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे